लिम्बुवानखबर। कोरोना भाइरसको चपेटामा परेको नेपाल बैदेशिक रेमिटेन्समा निर्भर छ । पछिल्लो तथ्याङ् नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरे अनुसार चालु आर्थिक बर्षको नौ महिनामा रेमिटेन्स १६ प्रतिशतभन्दा माथि पुगेको छ ।
रेमिटेन्स आप्रवाहमा वृद्धि भएसँगै नौ महिनामा सात खर्ब २९ अर्ब दुई करोड रूपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ४.२ प्रतिशतले घटेको थिया । कोरोना महामारी सुरु भएयता (२०७७ चैतपछि) वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । कैयन गन्तव्य मुलुकले भीडभाड कम गर्न नेपाली कामदार बोलाउन बन्द गरेका छन् ।
पहिलो लहरको कोरोना महामारीपछि करिब ६ महिना बन्द भएको वैदेशिक रोजगारी दोस्रो लहरको महामारी सुरु भएलगत्तै अघिल्लो सातादेखि असहज भएको छ । यतिखेर वैदेशिक रोजगार विभागले श्रम स्वीकृति बन्द नगरी अनलाइनबाट दिने व्यवस्था मिलाए पनि सरकारले भारतका केहीबाहेक सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेका कारण वैदेशिक रोजगारीमा जानेलाई समस्या परेको हो ।
मलेसिया लगायत केही गन्तव्य मुलुकले भने पहिलो लहरको कोरोना महामारीदेखि नै नेपाली कामदारलाई बोलाएका छैनन् । नयाँ श्रमिकलाई नबोलाएका गन्तव्य मुलुकका रोजगारदाताले महामारी सुरु हुनुअघि नै गएका श्रमिकलाई काममा लगाइरहेका छन् । विभागले हालसम्म करिब ५५ लाखलाई श्रम स्वीकृति दिए पनि यतिखेर ३०–३५ लाख नेपाली रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेको अनुमान छ ।
कोरोना महामारीमा स्वदेशि फर्किएका धेरै नेपालीको रोजगारी गुमेको अवस्था छ तर राज्यले त्यसको लेखाजोखा हालसम्म गर्न नसकेको प्रवासीहरु बताउँछन् । त्यही प्रवासी श्रमिकहरुले पठाइरहेका रेमिटेन्स र तीबाहेक अध्ययनका लागि विभिन्न मुलुक पुगेका विद्यार्थीले पनि बचत गरेर रेमिटेन्स पठाउने गरेका छन् ।
जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको छ । वैशाख २३ देखि नियमित अन्तर्राष्ट्रिय उडानलाई वैशाख ३१ सम्मका लागि बन्द गरिएको थियो । तर, सरकारले कोरोना महामारी नियन्त्रणमा पुनः निषेधाज्ञा लगाउने निर्णय गरेसँगैं अन्तर्राष्ट्रिय हवाई उडान पनि जेठ १७ सम्म बन्द गरिएको हो ।
नियमित अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर तथा कार्गाे उडान भने रोकिएको छैन । भारतमा भने साताको दुई दिन बुधबार र शुक्रबार उडान भइरहेका छन् । नयाँदिल्लीका लागि नेपाल वायुसेवा निगमले बुधबार र एयर इन्डियाले शुक्रबार उडान गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।