काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनबाट पछि हटेका छन् । नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरुले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद रहेको छ । ।
चौथो दल जनता समाजवादी पार्टी (जसपा)को ३२ (दुई निलम्बित) सांसदको समर्थन रहेको भए सरकार गठनमा अगाडि बढ्न सक्ने अवस्था थियो तर जसपामा सरकारमा जाने नजाने विषयमा विवाद रहेकाले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बहुमतको सरकार गठन गर्नबाट पछि हटेका हुन् । जसपाका उपेन्द्र–बाबुराम खेमाले मात्र साथ दिदाँ बहुमतको सरकार बन्न सक्ने भएपछि अन्ततः नयाँ सरकार गठन प्रक्रियामा सहभागी नहुने पक्का भएको हो ।
आज (बिहीबार) जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले देउवालाई भेटी सरकार गठनमा साथ दिन नसक्ने स्पष्टता दिएका थिए ।
यस्तैगरी सरकार गठनमा बहुमत पु¥याउन कांग्रेस र माओवादी केन्द्रले माधवकुमार नेपाल पक्षका नेकपा एमाले सांसदको राजीनामा आशा गरेका थिए । तर, प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो भएको छलफल पश्चात नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।
अबभने एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने लगभग पक्का भएको छ । उनी जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूहका सांसदको समर्थन लिएर बहुमतको प्रधानमन्त्री नै दावी गर्ने वा संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री बन्ने भन्ने प्रष्ट भइसकेको छैन । किनकी बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज (बिहीबार) राति ९ बजे सकिँदैछ ।