काठमाडौं । दुई खेमामा विभाजित जनता समाजवादी पार्टी (जसपा) मा नयाँ सहमति जुटेको छ । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच तत्काल सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा मात्र सरकार गठनमा अगाडि बढ्ने सहमति भएको हो ।
यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक भएका थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि साथ दिएको थिएन ।
जसपामा त्रिव्र विवादका कारण पार्टीको कार्यकारिणी समिति बैठकसमेत बस्न सकेको थिएन । तर पछिल्लो तीन दिनयता सहमतिका लागि प्रयास तीव्र भएको थियो । ठाकुर र यादवबीच सम्वाद भएको थियो भने तत्कालीन राजपाबाट मनिष सुमन, मृगेन्द्र यादव तथा समाजवादी पार्टीबाट रेणु यादव, मोहम्मद इस्तियाक राई, प्रकाश सिंह र गंगानारायण श्रेष्ठ लगायतका नेताले दुई अध्यक्षलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए ।
दुई नेताहरु बिच भएको सहमति अनुसार ठाकुर पक्ष तत्काल सरकारमा नजान यसैगरी यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा निर्णयहरु नगर्ने भएको छ । द्वयअध्यक्ष ठाकुर र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै तत्काल सरकारमा नजाने प्रष्ट पारेका छन् ।
यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ । संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा सरकार बनाउने
जसपाका अध्यक्षद्वयले जारी गरेको ८ बुँदे विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बन्ने अवसर प्राप्त भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ’ भनिएको छ ।
जसपाका नेताहरुका अनुसार यो अभ्यास ७६ (३) का प्रधानमन्त्रीले संसदमा ३० दिन भित्र विश्वासको मत नपाएपछि हुनेछ । हालै मात्र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पूर्व प्रधानमन्त्री बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेका थिए । विज्ञप्तिको भाषा यसै विषयमा केन्द्रित भएको हो भन्ने धेरैले अड्कलवाजी समेत गर्न थालेका छन् ।
जसपा अध्यक्ष ठाकुर र यादवद्वारा जारी विज्ञप्ति तल हेर्नुहोस्

