
२३ जेठ, काठमाडौं । सरकारले हप्तामा दुई दिन विदा दिने निर्णय कार्यान्वयन नभएको भन्दै खारेज गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको हो ।
अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।
गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । सुरुमा तीन महिनाका लागि परीक्षणका रुपमा शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय एक महिना पनि टिक्न नसकेको विश्लेषण गर्दै सरकारको उक्त निर्णयको आलोचना भइरहेको थियो ।
आइतबारे सार्वजनिक बिदा खारेज भएसँगै कार्यालय समय पनि साविककै बिहान १० देखि साँझ ५ बजेसम्म कायम हुनेछ । आइतबार बिदा दिने प्रयोजनका लागि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय समय तय गरिएको थियो ।