
जनता समाजवादी पार्टी(जसपा)ले तीन मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाएको छ । मन्त्री राजेन्द्र श्रेष्ठ यथावत रहेका छन् ।
सोमबार मन्त्रीहरु महेन्द्र राय यादव, रेणु यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको छ भने आजै मृगेन्द्रकुमार सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, मोहमद इस्तियाक राईलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदीप यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा पठाएको हो ।
जसपाले सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको जिम्मेवारीमा रहेका राजेन्द्र श्रेष्ठलाई भने सोही मन्त्रालयमा यथावत राखेको छ ।
सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपषिद्को नयाँ रोष्टरमा जसपाबाट पठाइएका नयाँ तीन मन्त्रीको नाम समावेश गरेको छ । उनीहरुले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनीयताको सफथ लिएका छन् भने अाजै मन्त्रालयमा पुगेर पदभार समेत ग्रहण गरेका छन् ।
जसपाभित्र पार्टी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षबीच सहमतिमै पार्टी विभाजनका लागि तयार रहेको विषय सार्वजनिक भइरहेका बेला मन्त्री हेरफेर हुनुलाई चासोका साथ हेरिएको छ ।