
चैनपुर, २१ असार । संखुवासभाको मादी हत्या काण्डमा संलग्न ४ जनालाई जिल्ला अदालतले आजीवन कारावासको फैसला सुनाएको छ । मादी नगारपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्या प्रकरणमा आरोपी ५ जनामध्ये ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको हो ।
अदालतले हत्यामा संलग्न १७ वर्षीय किशोर नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाई कारावासको फैसला सुनाएको छ ।
जिल्ला न्यायधीश शान्तिप्रसाद आचार्यको एकल इजलासले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दै उक्त फैसला गरेको अदालतका स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । साथै मृतक परिवारको राहत कोषमा ४ जनाले दुई÷दुई लाख रुपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने आदेश भएको उनले बताए ।
घटनाको सफल अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले पनि ४ जनाविरुद्ध आजीवन कारवास सजाय मागदाबी गरेको थियो ।
गत २०७८ भदौं २१ गतेको हत्या काण्ड अभियोगमा २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय नरेश पक्राउ परेका थिए । उनीहरू सबै मृतक तेजबहादुर परिवारकै नातेदारहरू हुन् ।
२०७८ भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपीन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।