असोज ५ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात खुलाइने

 लिम्बुवान खबर
                       

काठमाडौं : सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठ्कमा पेस गरेको थियो ।

सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको छ । सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यातायात खोल्नुको विकल्प नरहेको र सुरक्षा अपनाएर यातायात सञ्चालन गर्न व्यवसायी तयारी अवस्थामा रहेको बताए ।

सरकारले कोरोना परीक्षणको शुल्क घटाएर दुई हजार रुपियाँ बनाएपछि सार्वजनिक यातायात सञ्चालनमा अझ सहज भएको महासङ्घको दाबी छ । यात्रा गर्नुअघि यात्रुले दुई हजार रुपियाँमा कोरोना परीक्षण गरेर पीसीआरको रिपोर्ट हेरेर गाडीमा चढाउने व्यवस्था गर्दा पनि हुने व्यवसायीको भनाइ छ ।

त्यसो गर्दा गाडीमा सिट खाली राख्न पनि नपर्ने र भाडा पनि सस्तो पर्ने बताइएको छ । उपाध्यक्ष स्वाँर भन्नुहुन्छ, “झ्याल खोलेर चलाउने हो प्लेन जस्तो होइन, अहिले निजी गाडीले १५÷२० हजार लिएर यात्रु ठगेका छन्, सेनिटाइजर, मास्कको व्यवस्था हामी गर्छौं सुरक्षा अपनाएर चलाउने छौ ।

सञ्चालनका लागि राजनीतिक दलका नेता तथा मन्त्रालयमा व्यवसायीले दबाब दिँदै आएका छन्  । गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो ।

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...