पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

 लिम्बुवान न्युज
                       

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

स्वास्थ्य स्वयमसेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ थियो । दीर्घरोगी वडा नंं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिए ।

पाँचजना परिवारको अभिभावक उहाँ उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन् । अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा रु पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको थियो । सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुसी भएकी छिन् ।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । “पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,” उनले भने –“आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन र उपचार गराउन खर्च पनि गर्न सक्छन् ।”

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिआएका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले पनि आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गरे । “गरिबले खानका लागि बिहान–बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,” उनले खुसी हुँदै भने –“हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बीमा गरेर अति राम्रो काम ग¥यो ।” मुटु, मधुमेह र उच्च रक्तचापको औषधिका लागि भद्रपुर वा बिर्तामोड धाउने खर्च अब जोगिएको विश्वकर्माले सुनाए । चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत रोगीको विवरण सङ्कलन गरिएकोे र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिए ।

“औषधि खरिद गर्न यो बजेटले वार्षिक नभ्याउने भयो”, उनले भने, “बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र बिमितहरुले रु एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौँ ।” बिमितहरुको विवरण सङ्कलन गरेर मङ्सिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गरे ।

सो बीमा यही फागुन महिनादेखि लागू हुने उनको भनाइ थियो । बीमामार्फत वार्षिक औषधि र उपचारमा प्रति परिवार रु एक लाखसम्म खर्च हुनसक्ने उनले जानकारी दिए । वडा नंं ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...