वीरेन्द्र थोक्लीहाङ् इमानसिं चेम्जोङ् जयन्तीमा पुरस्कृत

 लिम्बुवान न्युज
                       

दमक, १८ पौष । किरात इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङको एकसय २२औं जन्मजयन्तीको पावन अवसरमा लेखक तथा साहित्यकार वीरेन्द्र थोक्लीहाङ् “वीरेनजी“ पुरस्कृत हुनुभएको छ । वीरेनजीलाई प्रजातन्त्रका क्रान्तियोद्धा विद्वान गुञ्जमान सुब्बा (आङ्बुहाङ्)को स्मृतिमा स्थापित “गुञ्जमान सुब्बा आङ्बुहाङ् स्मृति पुरस्कार“ प्रदान गरिएको हो ।

विर्तामोड नगरपालिका वडानं. १ सिरिजङगा चौकस्थित जिल्ला चुम्लुङहिममा पुस १७ गते तद्नुसार जनवरी १ तारिखका दिन आयोजित चेम्जोङ जयन्ती समारोहमा कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय उप–महासचिव डा. योगेन्द्र पालुङ्वाले साहित्यकार वीरेनजीलाई ५ हजार नगद सहित सम्मान पत्रद्वारा पुरस्कृत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि डा. योगेन्द्र पालुङ्वा, संघीय सदस्य अमृत योङहाङ्, पुर्व केन्द्रीय उपाध्यक्ष साहित्यकार हरि हुक्पा चोङबाङ्, पुर्व केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार राधा सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य झापाका नरेनहाङ् लिम्बू, समाजसेवी क्या. जगनध्वज वनेम, पुरस्कृत व्यक्तित्व वीरेन्द्र थोक्लीहाङ्, जिल्ला सदस्य धर्म लक्म्बा, कियाचु विर्तामोड नगर अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु भद्रपुर नगर अध्यक्ष मुना इजम कन्दङ्वा लगायतले इमानसिं चेम्जोङ् र विद्वान गुञ्जमान सुब्बाको योगदान र जीवनी चर्चा गरे भने पूर्व जिल्ला सदस्य तथा जिल्ला सल्लाहकार योगचन्द्र आङ्बुहाङ्ले प्रजातन्त्रका क्रान्तीयोद्धा दिवंगत विद्वान गुञ्जमान सुब्बा (आङ्बुहाङ)को योगदान र जीवन चर्चा विस्तृत रूपमा गर्नु भएको थियो ।

किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष सेसेहाङ् फियाकको सभापतित्वमा सम्पन्न समारोहमा जिल्ला उपाध्यक्ष हस्तबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने सचिव भिममाया नेम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

पुस १७ गते जन्मेका गुञ्जमान सुब्बाको समेत जन्म–जयन्ती जोडेर मनाइने चेम्जोङ् जयन्तीमा वितरण गरिनेगरी स्थापना गरिएको “गुञ्जमान सुब्बा (आङ्बुहाङ्) स्मृति पुरस्कार“ गत वर्ष २०८० मा लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङ “स्न्छ्नहाङ्“ लाई प्रदान गरिएको थियो ।
गुञ्जमान सुब्बा (आङ्बुहाङ्) सम्मृति पुरस्कार–२०८१ द्वारा पुरस्कृत व्यक्तित्व वीरेन्द्र थोक्लिहाङको संक्षिप्त जीवनी

वीरेन्द्र थोक्लिहाङ् ‘वीरेनजी’ को जन्म वि.स.ं २०२८ माघ १४, फालेलुङ–२, (साविक एकतिन–४, बगाले) पान्थर भएको हो भने हाल शिवसताक्षी न.पा. ११, झिलझिले, झापामा स्थायी रुपमा बसोबास गर्नुभएको छ । जंगप्रसाद थोक्लिहाङ र देवीमाया थोक्लिहाङका छोरा वीरेनजी नेपालीमा स्नातकोत्तर गरेका हन् ।

लेखक लिम्बुले गुम्सिएको अभिव्यक्ति (उपन्यास), २०४८, घाँडो (कथा संग्रह), २०५२, प्यासी ओंठ (उपन्यास), २०६३, पीडाः बर्डिङ् मास्टरको (कविता संग्रह), २०६४, युद्धमा मारिएकी लुङा बहिनीको चिट्ठी (कविता संग्रह), २०६५, यदि उसको भविष्य बन्छ भने (नाटक संग्रह), २०७६, फाल्गुनन्द (उपन्यास), २०७९, केही किरात धर्मावलम्वीहरूको जीवनकथा (जीवनी सङ्ग्रह), २०८० र राजेन्द्रकुमार जवेगु “हाङ्वासाङ्“ (जीवनी), २०८१ लगायत कृतिहरु प्रकाशित भएका छन् । यसैगरी उनका थुप्रै फुटकर साहित्य तथा लेखहरु विभिन्न पत्रपत्रिकाहरुमा समेत प्रकाशन भएका छन् ।

लेखक लिम्बु यस अघि बृहत् फालेलुङ् साहित्यिक, सांस्कृतिक एवम् पर्यटन महोत्सव–२०७९ र किरात याक्थुङ चुम्लुङ, शिवसताक्षी नगर समिति, झापा–२०८० बाट सम्मान तथा पुरस्कार भएका छन् ।

किरात इतिहासकार तथा साहित्यकार चेम्जोङको संक्षिप्त जिवनी

किरात साहित्यकार तथा इतिहासकार इमानसं चेम्जोङ सन् १९०४ जनवरी १ तारिखका दिन पिता मेघवरसिं लिम्बू र माता दावापुहाङ्मा लिम्बूको कोखबाट भारत दार्जिलिङको कालिम्पोङ रिङकेबुङमा जन्मेका हुन् ।
उनले कलकत्ताको सेन्टजेभियर कलेजमा बि.ए. सम्म अध्ययन गरेमा थिए भने सिक्किमको गेजिङ् र गान्तोकमा सन् १९४२ देखि १९४६ सम्म शिक्षकका रूपमा काम गरे ।
उनले सन् १९७४–१९७४ को बिच किरात लिम्बू जातिका मुन्धुम् (सामाजिक इतिहास) इतिहास, भाषा, संस्कृति÷संस्कार र दर्शनका दर्जनौं पुस्तक लेखेर प्रकाशन गरे ।

भारतमा जन्मेका भएपनि नेपालमा सन् १९५२ मा आएर उनले १९६१ देखि १९७५ सम्म त्रिभुवन विश्वविद्ध्यालयमा किरात इतिहास र संस्कृतिविद्को रूपमा काम गरे । तेसपछि उनी भारत दार्जिलिङमा फर्केको ३ वर्षपछि सन् १९७८ मा दार्जिलङमा उनको तेहान्त भयो ।

उनले लेखेका कृतिहरू:
१. किरातको वेद मुन्धुम् नेपाली, किराती भाषामा सन् १९३१
२. किरात ईतिहास सन् १९४८
३. किरात साहित्यको ईतिहास सन् १९५५
४. किरात दन्त्यकथा सन् १९६१
५. लिम्बू–नेपाली–अंग्रेजी शब्दकोष सन् १९६१
६. किरात मुन्धुम् खाहुन् सन् १९६५
७. याक्थुङ साम्जिक मुन्धुम् (किरात दर्शन) सन् १९७४
८. किरात व्याकरण सन् १९७४
९. किरात प्रथम वर्णमाला भाग–१ र भाग–२ ।
१०. द हिस्ट्रि एण्ड कल्चर अफ किरात पिपल (सन् १९६७)
११. किरातकालिन विजयपुरको संक्षिप्त ईतिहास (सन् १०७४)

स्रोत: चेम्जोङकृत जीवनी सम्बन्धि विभिन्न विद्वानहरूको आलेख ।

प्रजातन्त्रका क्रान्तीयोद्धा गुञ्जमान सुब्बाको संक्षिप्त जीवनी

जन्म : वि.सं. १९७९ पुस १७ गते
जन्मस्थान : हाङ्पाङ्–७, ताप्लेजुङ्
बुबा : सुब्बा लोकबहादुर आङबुहनङ्
आमा : लक्ष्मीकुमारी तुम्बाहाङफे र धनलक्ष्मी चोङबाङ्
शिक्षा : आई ए
शिक्षक : भानु मिडिल स्कुल फुङ्लिङ् ,ताप्लेजुङ् (वि.स. २००८–२०१०)
पुस्तकालय व्यावस्थापक : सार्वजनिक विद्ध्याभवन धरान, सुनसरी । (वि.स.ं २०१०–२०१५)
नायव सुब्बा : कृषि मन्त्रालय, काठमाण्डौ । (वि.स.ं २०१७–२०३७)

राजनैतिक संलग्नता :
प्रवेश : नेपाली काँग्रेस (वि.स.ं २००७)
क्रान्तीयोद्धा : प्रजातान्त्रिक आन्दोलन (वि.स.ं २००७)
सचिव : ताप्लेजुङ्मा गठन भएको नेपाली काँग्रेसको ओेत्रीय कमिटि (वि.स.ं २००८)
सदस्य : नेपाली काँग्रेस जिल्ला कमिटि धनकुटा (वि.स.ं २००८)
सदस्य : नेपाली काँग्रेस केन्द्रीय महासमिति भेला काठमाण्डौ (वि.स.ं २००९)
सल्लाहकार :
आादिवासी जनजाती महासंघ, किरात याक्थुङ चुम्लुङ्, जनमूक्ति पार्टी ।
लिम्बुवान राज्य परिषद् लगायत विभिन्न सामाजिक संघ–संस्था ।

कृति : लिखित तथा अलिखित कथा, कविता, नाटक, निबन्ध र फुटकर लेख ।
किरात स्टोर धुलाबारी, झापा (वि.सं. २०३८–२०४१)
सुब्बा इम्पोरियम विर्तामोड झापा (वि.स.ं २०४१–२०६५)

सामाजिक कार्य :
धर्म तथा संस्कृति, साहित्य तथा खेलकुद् सामाजिक रीतिरिवाज, भाषा तथा लिपि सुधारमा जोड र अन्य विकास निर्माणमा पहल ।

देहान्त :
वि.सं. २०६५ साल साउन ८ गते ।

स्रोत :
गुञ्जमान आङ्बुहाङ् (लिम्बू) स्मृतिग्रन्थ –२०६८

स्रोत
राजेन्द्रकुमार जवेगुको जीवनीकृत पुस्तकमा उल्लेखित संक्षिप्त जीवनी

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...